.

हङकङसँगको नमिठो हारसँगै नेपाल टी–२० सिरिजको फाइनल पुग्न असफल

विराटनगर , ३० कात्तिक । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ । 


नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो। तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ। अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए।


आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो। जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्याे। 


हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडे। त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन्।


त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो।


नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। दोस्रो ओभरमा ओपनर पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो। 


तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन्। उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन्। उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो। 


त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १–१ रनमा आउट भए। लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्। उनले २५ रनको योगदान गरिन्। रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन्। 


त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।


बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्।


हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी–२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।


अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ। शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। यससँगै नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया