खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट
१९ असोज २०८०, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , १९ असोज ।खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ ।
विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको बताएको छ ।
यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत उत्पादन आठ दशमलव पाँच प्रतिशतले गिरावट भएको उल्लेख गरेको छ । यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावट भन्दा बढी हो ।
बेइजिङको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीयरूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो । विश्वव्यापीरूपमा सौर्य ऊर्जा र वायु शक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो छ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ ।
विद्युत्को मागमा न्यून वृद्धिले अन्यथा हुनसक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले जारी बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ । तर चीनमा जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै आठ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत उत्पादनमा कमी आएको हुनसक्ने बताएको छ ।
उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ । एम्बरले जलविद्युत उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ ।
मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत उत्पादन क्षमतामा वृद्धि देखिनसक्छ । तर दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत उत्पादन कमजोर हुने सम्भावना छ ।
यस वर्षको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप) को बैठकमा कोपका प्रमुखले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापीरूपमा तीन गुणाले बढाउन आह्वान गरेका थिए ।