.

एक हप्ता अघि सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

विराटनगर , १ मंसिर । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।


उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म  प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।


बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्साे गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्साे गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ । अर्थात तेर्साे र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।

सुरुङभित्र ७० मिटर लामो पहिरो खसेको अनुमान छ । हालसम्म २४ मिटरसम्म मात्र खनेर पहिरो पन्छाइएको छ ।


सुरुङमा फसेका मजदुरहरुलाई उद्धारका लागि पहिरो पन्छाउन दिल्लीबाट ओगर मेसिन ल्याइएको थियो । त्यसले शुक्रबारदेखि काम गर्न बन्द गरेको छ र इन्दौरबाट अर्काे एउटा मेसिन ल्याइएको छ । नयाँ मेसिनले रोकिएको काम अघि बढाउने छ ।


उद्धार प्रयासको दोस्रो विकल्पको खोजी गर्ने क्रममा अधिकारीहरुले पहाड माथिबाट पनि सुरुङमा प्वाल पार्ने प्रयास गरेका छन् । त्यसका लागि पहाडका रुखहरु पन्छाएर मेसिन राखिने छ ।


मजदुरहरुको उद्धार प्रयासका लागि प्रधानमन्त्री कार्यालयबाट विशेषज्ञ र सल्लाहकारहरुको टिम पठाइएको थियो । सो टिमले पहाडको माथिबाट प्वाल पार्ने स्थानको अवलोकन गरेको थियो ।


सुरुङमार्ग निर्माण प्रोजेक्टमा कार्यरत एक अपरेटर मृत्युञ्जय कुमारले बीबीसी हिन्दीसँग कुरा गर्दै सुरुङभित्र फसेकाहरुको मनोबल खस्किँदै गएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले भित्र फसेका मजदुरहरुलाई सम्झाउने कोसिस गर्दछौं । तर अब सात दिन भइसकेको छ र उनीहरुको मनोबल गिर्दै गएको छ । उनीहरु स्वस्थ छन् तर हौसला बिस्तारै बिस्तारै टुटिरहेको छ ।’


सुरुङ भित्र फसेका मजदुरहरुसम्म पाइपको माध्यमबाट अक्सिजन, पानी र सुक्खा खाना पुर्याइए पनि बाहिर निकाल्न भने अझै सकिएको छैन । त्यही पाइपमार्फत बेलाबेलामा कुराकानी पनि हुने गरेको छ ।


अपरेटर मृत्युञ्जय कुमारका अनुसार मजदुरहरुले हामीलाई निकाल्नका लागि काम भइरहेको छ कि झुठो आश्वासन मात्र दिइएको हो भनेर सोधिरहेका छन् ।


अधिकारीहरुका अनुसार सुरुङमा फसेका मजदुरहरु उत्तराखण्ड, उत्तर प्रदेशको बिहार, पश्चिम बंगाल, झारखण्ड, ओडिसा र हिमाञ्चल प्रदेशका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया