.

भारतले पठाएको चन्द्रयान–३ आज बेलुका चन्द्रमामा अवतरण गर्दै

विराटनगर , ६  भाद्र ।  भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरो ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ।


सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।


चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ । 


चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।


यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।


यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् ।


भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।


चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।


भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो ।


इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया