.

ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित

विराटनगर , ५ मंसिर  । ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् ।


आम्दानी र बजार माग दुवै उच्च भएपछि पछिल्लो समयमा यहाँका किसानहरु मौरीपालनतर्फ आकर्षित भएका हुन् ।


एक माना महकै १५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुन थालेपछि किसानहरु मौरीपालन गर्न उत्साहित भएका छन् ।


जिल्लाका किसानले उत्पादन गरेको मह स्थानीयस्तरमा र कोशेलीका रुपमा बाह्य जिल्लामा समेत बिक्री हुँदै आएको छ ।


जिल्लाभित्र करिब ४ हजारको संख्यामा मौरीका घार रहेको अनुमान गरिएको छ । एउटा घारबाट वर्षमा १५ मानासम्म मह उत्पादन हुँदै आएको छ ।


जंगली क्षेत्रमा चरणका लागि सिजनअनुसारका फूलहरु प्राप्त हुने भएकाले यहाँका किसानहरुले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हेमबहादुर आले मगरले बताउनुभयो ।


जिल्लामा परम्परागत तथा आधुनिक दुवै घारमा किसानले सेरेना जातका मौरी पाल्दै आएका छन् ।


प्राविधिक ज्ञान र प्रविधिको उपयोग गरेर मौरीपालन गर्ने हो भने किसानले मनग्गे आम्दानी लिन सक्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया