विराटनगर ,९ माघ । नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि थप ३ वटा जहाज किन्ने भएको छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्या सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुनाफा मात्र नभई निगमको राष्ट्रिय दायित्व बमोजिम दुर्गम जिल्लामा सेवा विस्तारका लागि थप ३ वटा साना जहाज किन्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
मन्त्री किरातीले राजनीतिक हस्तक्षेप र काम नगर्ने प्रवृत्तिले निगम घाटामा गएको भन्दै व्यवस्थापन चुस्त बनाई यो वर्ष निगमले ५ अर्ब बराबरको ऋण तिर्न सक्षम भएको बताउनुभयो ।
मन्त्री किरातीले विगतमा भएका अदूरदर्शी निर्णयका कारण निगम समस्यामा परेको भन्दै निगमको पुनर्संरचना गर्नु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री किरातीले दक्षिण कोरियाले नेपालको हवाई क्षेत्रको अडिट गर्न पाउनुपर्ने शर्त राखेपछि सिधा दक्षिण कोरिया उडान रोकिएको जानकारी दिनुभयो ।
मन्त्री किरातीले निगमको व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मान्यता र समयानुकूल बनाउन व्यवस्थापन करार मार्फत जाने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।
बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको भन्दै काठमाडौँ, सिङ्गापुर, सिड्नी उडानका लागि तयारी गरिरहेको जानकारी दिनुभयो ।
बैठकमा सांसद्हरुले निगममा बेथिति देखिएको भन्दै कार्यशैलीमा सुधार, अनियमितता गर्नेलाई कारबाही गर्ने देखी निगमको पुनर्संरचना आजको आवश्यकता भएको बताउनुभयो ।
सांसद्हरुले भएका जहाजहरू पूर्ण क्षमतामा नचली रहेका बेला नयाँ जहाज किन्ने र भाडामा लिनुपर्ने कारणको स्पष्ट जवाफ दिन माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?