.

इटहरीमा निजी विद्यालयको मनपरी शुल्क वृद्धि, उपमहानगरको चेतावनी

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी रूपमा शुल्क वृद्धि गरेको पाइएको छ।


मासिक शुल्कमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरिएको भन्दै अभिभावकहरूबाट गुनासो बढेपछि उपमहानगरपालिकाले चासो देखाएको हो। शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी पत्र अनुसार केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन विपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिने, भर्ना प्रक्रियामा अनियमितता गर्ने र अभिभावकमाथि अनावश्यक आर्थिक भार पार्ने गरेको उल्लेख गरिएको छ।


त्यसैगरी विद्यालयहरूले आफ्नै नाममा स्टेशनरी सामग्री खरिद गर्न बाध्य पार्ने तथा पाठ्यपुस्तक वितरण प्रणाली परिवर्तन गरी अनावश्यक खर्च बढाउने कामसमेत गरेको गुनासो आएको छ। पूरै पुस्तकमा सामान्य पाठ परिवर्तन गरेर नयाँ पुस्तक किन्न लगाउने जस्ता गतिविधि पनि भेटिएको उपमहानगरपालिकाले जनाएको छ।


यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको छ। साथै आगामी दिनमा यस्ता कार्य दोहोरिएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।


उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रमेश कुमार शाहले सबै संस्थागत विद्यालयलाई नियम पालना गर्न र अभिभावकमाथि अनावश्यक आर्थिक भार नपार्न आग्रह गरेका छन्।


शुल्क वृद्धिका कारण अभिभावकहरू चिन्तित बनेका छन्। चर्को महँगी बढिरहेका बेला विद्यालय शुल्कसमेत वृद्धि हुँदा दैनिक आयआर्जनमा निर्भर परिवारहरू थप समस्यामा परेका छन्।


अभिभावकहरूले स्थानीय सरकारले प्रभावकारी अनुगमन गरी शुल्क नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। यस विषयमा उपमहानगरपालिकाले अनुगमन कडाइ गर्ने र शिक्षा क्षेत्रमा पारदर्शिता कायम गराउन सक्रिय हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया