विस्तृत शान्ति सम्झौताको १८ वर्ष : राजनीति पूरै बदलियाे, पीडितले अझै न्याय पाउन सकेनन्
५ मंसिर २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर,विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष
लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते
विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको
घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर
गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई
शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । देशमा
राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए
पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौतामा उल्लेख भएअनुसार द्वन्द्वको
अन्त्यसँगै सेना समायोजन, संविधान निर्माण जस्ता मुख्य कार्यभार सम्पन्न
भएका छन् । तर द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर
मानवअधिकार उल्लङ्घनका घटनाका पीडितले न्याय पाउन सकेका छैनन् । वितेका १७ वर्षमा पटक पटक सरकार परिवर्तन
भए पनि ती सरकारको नेतृत्वकर्ताबाट आफूलाई न्याय दिन कुनै पहल नभएको
पीडितको गुनासो छ । व्यक्ति बेपत्ता, गैरन्यायिक हत्या, यातना तथा यौन
हिंसा जस्ता घटनाका पीडित न्यायको पर्खाइमा छन् । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक
अध्यक्ष सुमन अधिकारी छिटो न्याय पीडितको अधिकार भएको र त्यो पूरा गर्नका
लागि राजनीतिक दलका नेताहरु इमानदार हुनुपर्ने बताउनुहुन्छ । सरकारले
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग
२०७१ माघ २७ गते गठन गर्यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको
साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए । २०७९ साउन एक गतेदेखि दुवै आयोग
पदाधिकारीविहीन छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७ सय १८
उजुरी दर्ता भएको छ । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय
गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा
तीन हजार २ सय ४३ उजुरीमध्ये २ सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप
आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । त्यसमध्ये एक सय ३१ उजुरी
दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ । साथै, २ सय ८९ उजुरीमा
द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने आधार प्रमाण नदेखिएकाले
तामेलीमा राखेको छ । आयोगले दुई हजार ४ सय ९६ उजुरीमा विस्तृत
छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५ सय १३ व्यक्ति बेपत्ता
पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । तर उजुरीहरु लथालिङ्ग अवस्थामा
रहेका छन् ।