विराटनगर , ८ मंसिर । सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । सिंहदरबारमा आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि न्याय परिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको हो ।
बैठकले मन्त्रिपरिषदबाट सिफारिस पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालका लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । प्रस्तावित राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिस गरिएकाहरूका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।
न्याय परिषद्को गएको मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरू मुसलमान, पौडेल र ढुंगाना तथा कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गएको कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?