.

सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

विराटनगर , ५ चैत्र । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिनुभयो ।
महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उहाँ पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।   नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उहाँलाई मन्त्री बनाउन नहुने तर्क गर्नुभयो ।
उहाँले सदन चलोस् भन्ने आफूहरूको चाहना भएको तर आफूहरूले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्करीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराउनुभयो । महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया