.

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

विराटनगर , ६ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ । सीआइबीले महरालाई पक्राउ गरेर हिरासतमा राख्न अनुमति माग गर्दै हिजो जिल्ला अदालतमा पेस गरेको थियो ।

कमजोर स्वास्थ्य अवस्थाको कारण देखाउँदै जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा महरालाई नर्भिक अस्पताल भर्ना गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गएको साउन गते ुब्रेक सुुमा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ । ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयम् महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको तस्करीको सुन छुटाउन कृष्णबहादुर महरा र छोरा राहुलले भन्सार कार्यालयलाई पटक पटक दबाब दिएको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख छ । राहुललाई भने अदालतको आदेशपछि थुनामा पठाइएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको हो । यसअघि भने सिआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।हिजो जिल्ला अदालत काठमाण्डौले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यता सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक केही समयपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया