प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि बोलाइयो
३ जेठ २०८१, बिहिवार
0
प्रतिक्रिया
विराटनगर ,२ जेष्ठ ।प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो ।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन ।
यसै बिच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक सारेका हुन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका थिए । त्यसपछि सभामुखले बैठक चार बजेका लागि तोकेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका अनुसार आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले बुधबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।
त्यस्तै राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो।बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ।