.

दाङमा गुठी पीडितमाथि अश्रुग्यास प्रहार, ८ जना प्रहरी र ७ गुठीपीडित घाइते

विराटनगर , २० जेष्ठ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झडपमा ८ जना प्रहरी र ७ जना गुठी पीडित घाइते भएका छन्।
घाइतेमध्ये एक प्रहरीको दाँत झरेको र अन्य ७ जना प्रहरीलाई सामान्य चोटपटक लागेको छ। यस्तै, ७ जना गुठी पीडितलाई पनि सामान्य चोटपटक लागेको छ।
उनीहरु सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ।गुठी पीडित किसानले आफूहरुका माग सम्बोधन नगरिएको र गुठीका ऐन तथा कानुन संशोधन गर्नुपर्ने भन्दै जिल्ला मालपोत र नापी कार्यालय दाङमा तालाबन्दी गर्न खोजेका थिए।
पीडितहरुले कार्यालय घेरेका थिए।प्रहरीले कार्यालय खुलाउने समयमा ढुंगामुढा र बल प्रयोग भएपछि स्थिति तनावग्रस्त बनेको र अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ।अहिले पनि गुठी पीडित किसानहरुले कार्यालयको गेटमा नाराबाजी गरिरहेका बताइएको छ।
सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि दबाबस्वरुप तालाबन्दी गर्नुपरेको पीडितहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया