.

रास्वपालाई दुईतिहाइ बहुमतमा २ सिट अपुग

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । गोरखा–१ र इलाम–१ को अन्तिम परिणाम आएपछि समानुपातिकतर्फको सबै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सम्पन्न भए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम विवरण आयोगमा आउने क्रम भने जारी छ । आयोगका अनुसार आजै बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना गरिएको छ ।

प्राप्त मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ मत र नेकपा (एमाले)ले १४ लाख ४८ हजार आठ सय ५४ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार सात सय ७३ मत ल्याएको छ ।


यसैगरी, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन् । अन्य दलहरू भने समानुपातिक सिटका लागि आवश्यक थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन् ।


मत परिणामका आधारमा समानुपातिकतर्फ सिट बाँडफाँट गर्दा ६ वटा दलले प्रतिनिधिसभामा स्थान पाउने देखिएको छ । सबै दलले प्रत्यक्ष निर्वाचनतर्फ पनि कम्तीमा एक सिट जितेकाले सबैले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछन् ।


समानुपातिक मतका आधारमा रास्वपाले ५७ सिट पाउने देखिएको छ । कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।


प्रत्यक्षतर्फ जितेका सिटसँग जोड्दा रास्वपाको कुल सिट संख्या १८२ पुग्ने देखिएको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा जितेको थियो । प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि आवश्यक संख्या भने १८४ हो । त्यसअनुसार रास्वपालाई दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया