राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका ५७ जना सांसदको नामावली टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम प्रस्ताव गरी निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लस्टरबाट नामहरू छनोट गरिएको बताए। उनका अनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ।
पार्टीले कुन क्लस्टरबाट को–को व्यक्ति परेका छन् भन्ने विस्तृत विवरण भने अहिले सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले यी नामावलीको कानुनी प्रक्रिया रुजु गरी स्वीकृत गरेपछि मात्र आधिकारिक रूपमा नामहरू सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए।