.

जेनजी अलायन्सद्वारा प्रदर्शनः आयोगको प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजीको माग

जेनजी मुभमेन्ट अलायन्सले सरकारविरुद्ध आन्दोलनको शंखघोष गरेको छ। गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन गुपचुप राखिएको र सरकारले नातावादका आधारमा राजनीतिक नियुक्ति गरेको भन्दै अलायन्सले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले बिहान ११ बजेदेखि आँखामा कालो पट्टी बाँधेर मौन विरोध जनाएका थिए। अलायन्सले विशेषगरी दुईवटा मागलाई मुख्य मुद्दा बनाएको छः पहिलो, वर्षौँदेखि सार्वजनिक नगरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल बाहिर ल्याउनुपर्ने र दोस्रो, प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति खारेज हुनुपर्ने।

आफ्नो विज्ञप्ति मार्फत अलायन्सले सरकारले जनआन्दोलनको भावना विपरीत कार्य गरेको आरोप लगाएको छ। ‘राज्यका निकायहरूलाई आफ्ना आसेपासे भर्ति गर्ने थलो बनाउने पुरानै प्रवृत्ति दोहोरिनु स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। निर्वाचन सम्पन्न गराएर प्रशंसा बटुलेको अन्तरिम सरकार यतिबेला आफ्नै समर्थक र युवा समूहको दबाबमा परेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया