विराटनगर १६ जेठ । प्रदेशको नामकरण पछि कोशी प्रदेशमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षको माग सम्बोधनका लागि राजनीतिक दलहरुले सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रदेश सरकारले अग्रसरता नदेखाएको अवस्थामा दलहरुले तत्काल वार्ताको ठोस बाताबरण बनाउन आग्रह गरेका छन् । यसका लागि सत्तामा रहेका राजनीतिक दलहरुले सरकारसँग सहजिकरण गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
कोशी प्रदेश सरकारमा रहेका सवै राजनीतिक दलका प्रदेश तहका नेता र केन्द्रिय सदस्यहरुहरुले आन्दोलनरत पक्षसँग तत्काल ठोस वार्ता थाल्न र वार्ताको वाताबरण बनाउन सरकारलाई आब्हान गर्दै वार्ताको सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । कोशी प्रदेश संवाद समुहले आज विराटनगरमा आयोजना गरेको सर्बदलीय संवादमा दलहरुले नामकरणपछि प्रदेशमा आन्दोलन भईरहेकोले तत्काल वार्ताको माध्यामबाट समस्याको समाधान निकाल्न आग्रह गरेका हुन् । उनीहरुले सरकारलाई वार्ता समिति बनाएर वार्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
सत्तामा रहेका दलहरुले यसको नेतृत्व गर्ने समेत संवादमा सहमति भएको छ । संवादमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी दलका प्रदेश अध्यक्ष, सचिव तथा केन्द्रीय सदस्यहरु सहभागी थिए । नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपानेले वर्तमान समस्या समाधान गर्नकोलागि सबै दलहरु एक हुनु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोईराला र भिम पराजुलीले तत्काल सरकारले वार्ता समिति बनाएर आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले सरकार र आन्दोलनकारीका बिचमा पर्याप्त छलफल हुन नसकेको बताउनुभयो । जनता समाजवादी पार्टी कोेशी प्रदेश अध्यक्ष दिपक याख्खाले सरकारले आन्दोलनलाई बेवास्ता गरिरहेकोले तत्काल वार्ता र संवाद गर्न आग्रह गर्नुभयो । नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नामाकरणको बिषय गम्भीर हो भनेर सबै दलका नेता र नेतृत्वले बुझ्न नसकेको औल्याउनुभयो ।