विराटनगर, ६ असार । पूर्वी पहाडी जिल्लामा केही दिनदेखि अविरल वर्षा हुँदा सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को पश्चिमतर्फ कटान सुरु गरेको छ ।
स्थानीयका अनुसार अघिल्लो वर्ष कटान भएकोभन्दा केही माथिबाट बाढीले तीव्ररूपमा कटान गर्न थालेको छ ।सप्तकोशीमा पानीको सतह बढ्दै गएका कारण अहिले २५ मिटरभन्दा बढी क्षेत्रमा कटान गरिसकेको छ । स्थानीयका अनुसार नदीमा बाढी कढ्दो क्रममा छ ।
उक्त स्थानबाट नदी बस्ती पसे बेलका नगरपालिकाका ३ वटा जोखिममा पर्नेछ । नदीले धार परिवर्तन गरे वडा नम्बर ८, ९ वडाको सिमालटार, धौरी, वडा नम्बर ३ को दुर्गा बन्दी,भाटे पुल मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने छन् ।
बेलकाका मेयर अशोक कार्कीले सप्तकोशी नदीको कटान रोक्नका लागि तारजाली लगाउने निर्णय भएको बताए । उनले नगरपालिकामा रहेको विपद् व्यवस्थापन समितिको बैठक बसी रोकथाममा जुट्ने निर्णय गरेको बताए ।