.

आजदेखि बन्द भए चिया उद्योग

भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् ।

भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन् ।

निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुने उनले बताए ।

भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरू पछि हटेका छन् ।

रिपोर्टमा केही सामान्य कमीकमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका उनले बताए ।

संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारत पुगेको करिब २ लाख किलो चिया आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै कुहिने अवस्थामा रहेको सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले विज्ञप्ति नै जारी गरेर जानकारी गराइसकेको छ ।

चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ ।

उद्योग बन्द निर्णयसँगै पहाडका ५६ वटा र तराईका ३० वटा सीटीसी चिया उद्योग प्रभावित भएका छन् । उद्योग बन्द हुँदा यस क्षेत्रमा कार्यरत हजारौं मजदुर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन् ।

चिया क्षेत्रमा देखिएको यो संकट समाधानका लागि सरकारलाई विभिन्न माध्यमबाट जानकारी गराइएको र सरकारले छिट्टै कूटनीतिक पहल गर्नेमा आफूहरू आशावादी रहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया