विराटनगर , २९ साउन । केही दिनदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ताप्लेजुङको मैवाखोलामा बाढी आएको बाढीका कारण मेरिङदिन गाउँपालिका ३ स्थितमा दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका ५ जोड्ने मोटरेबल पुल सम्म जाने बाटो अवरुद्ध भएको छ । खोलामा आएको बाढीले करिब ७ मिटर बाटो बगाउँदा दुवैतर्फ सवारी आवतजावतमा समस्या भएको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरोका कारण सडक सञ्चालन हुन सकेको छैन् । त्यसैगरी ईलाम नगरपालिका ४ अधिकारी चोकमा सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडकमा पहिरो खस्दा बाटो अवरोध भएको छ भने ताप्लेजुङको फुङलिङ नगरपालिका ८ खोक्से खोला स्थित मेची राजमार्गमा पहिरो खस्दा राजमार्ग अवरोध भएको छ । बाढीपहिरोबाट अवरुद्ध भएको सडक खुलाउन स्थानीय निकायहरुसंग समन्वय गरी प्रहरी परिचालन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मदनभण्डारी लोकमार्गको उदयपुर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ५ स्थित मौवासी खोला पुल नजिकै गएको पहिरोका कारण मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको हो । सडक खुलाउनका लागि पहिरो हटाउने प्रयास गरेपनि सडक सुचारु हुन अझै समय लग्ने बताइएको छ ।
यस्तै झापाको अर्जुनधारा नगरपालिका ७ खुदुवावारी९शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको पंखामा बाढीले क्षति पुर्याउदा पुल जिर्ण अबस्थामा पुगेको छ । त्यहाँ बाधँ निर्माणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?