विराटनगरमा रथयात्रा ३ बजे सुरु हुने, ४३ स्थानमा विश्राम ,रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीको आग्रह
२१ भदौ २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर , २१ भदौ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । ५५ औं संस्करणको रथयात्राको अपरान्ह तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ ।
भारतको कलकत्ताबाट झिकाइएको कालीगढले रथ श्रृंगार गरेर तयार गरेका छन् । रथ श्रृंगार बिगतभन्दा फरक आर्कषक बनाइएको आयोजकको भनाइ छ ।रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ । रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालन हुनेछन् भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालनको तयारी छ ।
रथले परिक्रमा गर्ने सडकमा भगवान श्रीराधाकृष्णको फोटो राखिएको झण्डाहरु राखिएका छन् ।रथयात्राका लागि आउने भक्तजनको संख्या यो वर्ष बढ्ने आयोजकको अनुमान छ ।
रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान छ ।मन्दिर परिसरबाट आज दिउँसो ३ बजेबाट रथयात्रा सुरुहुनेछ । रथको अगाडि सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनेछ ।
रथयात्रा मन्दिर परिसरबाट मेनरोडको ट्राफिक चोक पुगेर जनआन्दोलन चोक हुँदै कोशी राजमार्गबाट बरगाछी पुगेर ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा पुगेर विर्सजन हुनेछ ।रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिनेछ ।
रथयात्रामा सहभागी हुन् देशभरका उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उप्रमुखहरुले निम्तो दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ । राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र बृद्ध बृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको हो । प्रहरीले आफ्ना सवारी साधनलाई सुरक्षित रुपमा राख्न पनि आग्रह गरेको छ ।