विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना नगर प्रहरीको जिम्मेवारी खोसियो
२ असोज २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर ,२ असोज । विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ ।जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो ।
महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नै नाममा विज्ञप्ती जारी गर्दै नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागुहुने गरि सेवाबाट हटाएको जानकारी दिइएका छन् ।
महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो ।
सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिकाले गाली गरेको र त्यसपछि अन्य नगर प्रहरीसहितको टोलीले यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पुर्याएका थिए । घटना मिलेपनि जसपा मोरङले आन्दोलनको घोषणा गर्दै संलग्नहरुलाई हटाउनुपर्ने माग गरेका थिए ।
भदौ ३१ गतेको वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो । मेयर कोइरालाले आर्फैले ड्युटीमा खटाएका कर्मचारीलई अरुले अभद्र व्यवहार गर्दा बचाउमा लाग्नुपर्नेमा उल्टै हटाउने सहमति जनाएका छन् ।
त्यसको लगतै दुई दिन बित्न नपाउँदै स्पष्टीकरणको म्याद समेत नदिईकन हटाएका छन् । मेयर कोइरालाको यो कार्यले विराटनगरमा नगरप्रहरीको सहयोगमा गर्नुपर्ने कुनैपनि काम कार्यान्वयन हुननसक्ने सम्भावना बढेको छ ।