चाडपर्व नजिकिदैं गर्दा खाद्यन्न सामाग्री किनमेल गर्न सर्वसाधारणहरुको चहलपहल सुरु , विराटनगर बजारमा ग्राहकको संख्या न्यून
१६ असोज २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , १६ असोज ।नेपालीहरुको महान पर्व नजिकीदै गर्दा खाद्यन्न सामाग्री किनमेल गर्नका लागी सर्वसाधारणहरुको चहलपहल सुरु भएको छ । चाडपर्व नजिकिदैं गर्दा चाड पर्व मनाउनका लागि सर्वसाधारणहरु खाद्यन्न तथा लत्ताकपडा आदिको किनमेलमा व्यस्त हुन थालेका छन् । चाड पर्वका लागी आवश्यक पर्ने खाद्यन्न वस्तुको किनमेल गर्न बजारमा सर्वसाधारणहरुको भिड लाग्ने गर्छ । चाड पर्वलाई लक्षित गरेर सामग्रीहरुको बिक्री तथा वितरण पनि खुलिसकेको छ ।
चाडपर्वमा खपत हुने खाद्यवस्तुको किनमेल सुरु भइसके पनि विराटनगर बजारमा उपभोक्ताको खास भीड भने छैन । उपभोक्ताहरु सीमापारीको बजारमा जानेक्रम बढे सँगै विराटनगर बजार सुनसान जस्तै देखिएको छ । बजार र पसालमा ग्राहकको संख्या न्यून देखिन्छ ।
विराटनगर स्थित हनुमान मन्दिर छेउमा रहेको जय श्री कृष्ण किराना पसलमा पनि पहिलेजस्तो ग्राहकहरु किनमेलका लागि पुगेका छैनन् । पसलका कर्मचारी मिथुनकुमार भन्छन्, ‘अहिले बजारमा ग्राहकको भीड छैन, हाम्रोमा मात्र होइन अरु पसलमा पनि ग्राहक छैनन् । पहिले जस्तो सामान पनि बिक्री भएको छैन, खुद्राखाद्री बिक्री बाहेक उल्लेख्य परिमाणमा बिक्री भएको छैन ।’ उपभोक्ताहरुले दाल, गेडागुडी र चाउचाउ बढी किनिरहेको उनले बताए । अरु धेरै वस्तुहरु बिक्री नभएको अवस्था आउनुको कारण उपभोक्ताहरुले भारतीय बजार जोगवनीबाट आफ्नो आवश्यकता पूरा गरिरहेको अनुमान व्यापारीहरुले गरेका छन् ।
भारतीय बजारमा भन्दा दाल तथा गेडागुडी नेपाली बजारमा सस्तोमा पाइने भएकोले त्यस्ता वस्तु मात्र यहाँबाट किन्ने गरेको व्यापारीहरु बताउँछन् ।बजारमा चिनीको माग पनि खासै छैन । विराटनगरमा प्रतिकिलो ८५ रुपैयाँमा चिनी पाइन्छ । तर चिनीको बिक्री खासै नभइरहेको उनीहरुले बताएका छन् । भारतीय बजारमा प्रतिकिलो ६५ रुपैयाँमा पाइने भएकोले चिनी किन्नकै लागि ग्राहकहरु जोगवनी पुग्ने गरेको उनीहरुको अनुमान छ ।
चाडवाडको बेलामा जोगवनीबाट सर्वसाधारणले १० किलोसम्म चिनी ल्याउँदा भन्सारले खासै कडाइ गर्दैन । नाका खुला भएकोले जोगवनी गएर खाद्यन्न लगायत किराना सामान र लत्ताकपडा किनमेल गर्ने नेपाली ग्राहकको भीड उता लागिरहेको छ । विराटनगर बजार सुनसान हुँदा नेपाली उपभोक्ताकै कारण जोगवनी गुल्जार बनेको छ ।
केहि समय अघी भन्सारमा कडाई त भयो तर विराटनगरका व्यपारीलाई भने झन् व्यापारमा समस्या बढेको छ । उता जोगवनी भन्सारमा कडाई गरिएता पनि ग्राहकको आउने र जाने क्रम भने जस्ताको तेस्तै छ ।