.

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा सोलुखुम्बुको स्याङ्बोचे भ्रमण

विराटनगर, १३ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । आइतवार राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्नुभएको छ ।

जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जानुभएको हो । उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्नुभएको छ ।छलफलका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभएको छ ।

उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा आज सोलुखुम्बुको खुम्जुङ पुग्नुभएका उहाँले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको बताउनुभयो ।

हिमालमा हिउँ पग्लिएसँगै हिमाली बस्ती हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । साथै सगरमाथाको फोहर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्नु भएको छ ।

सोलुखुम्बुबाट काठमाडौं फर्केलगत्तै गुटेरेस ललितपुरस्थित यू.एन हाउसको कार्यक्रममा सहभागी हुुनुभएको छ ।

उहाँ आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ । भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ ।

त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानुहुनेछ । लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उहाँले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने तालिका छ ।

त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण सम्पन्न गरी फर्कने कार्यक्रम छ । उहाँ नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया