.

फोहोर व्यवस्थापनमा योजनाबद्ध काम भएको प्रमुख कोइरालाको दाबी

विराटनगर , २० कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले फोहोर व्यवस्थापनमा योजनाबद्ध काम भइरहेको दाबी गरेका छन् ।

नेपाल नगरपालिका संघले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विभिन्न प्रकारका फोहोरको छुट्टाछुट्टै संकलन गर व्यवस्थापन गरिरहेको बताएका हुन् । विराटनगरमा घरायसी, मेडिकल र इलेक्ट्रिक फोहोरको उत्पादन हुने गरेको भन्दै सोही अनुसार व्यवस्थापन गर्दै आएको उनको भनाइ थियो ।


सहरीकरणसँगै फोहोर व्यवस्थापन एउटा चुनौतीको रुपमा रहेको भन्दै उनले सहरलाई बस्नयोग्य बनाउने बताए । ‘बस्नयोग्य सहर बनाउन पहिला त सरसफाइ नै गर्नुपर्ने रहेछ,’ उनले भने, ‘दिसाजन्य फोहोर व्यवस्थापनमा अझै चुनौती देखिएको छ ।’


त्यस्तै मेयर कोइरालाले जनताले स्थानीय सरकारलाई प्रतिपक्षको रुपमा लिने गरेको गुनासोसमेत गरेका छन् । उनले स्थानीय सरकारले गरेका कामको समेत जनताले अपनत्वसमेत ग्रहण नगर्ने गरेको दुखेसो गरे । स्थानीय सरकारसित भएको सीमित स्रोत–साधनले जनताका असीमित इच्छा र चाहना पूरा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


सहरी फोहोर व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणमा विभिन्न नगरपालिकाका योजना र फोहोर व्यवस्थापन शाखाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा संविधानविद् काशीराज दाहाल, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, बेलबारी नगरपालिकाका मेयर तथा नगरपालिका संघ कोशी प्रदेशका संयोजक डीपी राईलगायतले सहरी फोहोर व्यवस्थापनमा चुनौती देखिएको बताए ।


यसैबीच मेयर कोइरालाले आसन्न छठ पर्वलाई मध्यनजर गरी विराटनगरको मध्यभागबाट बग्ने नहरको सफाइमा सक्रियता बढाएका छन् ।

नहर सरसफाइका लागि मेयर कोइरालाले सुनसरी–मोरङ सिंचाइ आयोजनाका इन्जिनियर कुमार घिमिरेसहितको टोलीलाई महानगरमा बोलाएर आइतबार छलफल गरे । उनले तत्काल नहर ससफाई गरी छठ पर्वका ब्रतालुहरुलाई सहज ढंगले पूजाअर्चना गर्ने वातावरण बनाउन आग्रग गरे ।

आयोजनाका प्रमुख विराटनगरबाहिर भएकाले छलफलका लागि इन्जिनियर घिमिरे महानगर पुगेका थिए । महानगरले आयोजना प्रमुखलाई छलफलका लागि बोलाएको थियो । इन्जिनियर घिमिरेले केही दिनमै नहरको सफाई सुरु गर्ने प्रतिबद्धता जनाएको प्रमुखका प्रेस संयोजक मिनकुमार नवोदितले बताए ।


महानगरको विभिन्न वडा हुँदै बग्ने नहरमा स्थानीयले फोहोर फ्याल्दा दुर्गन्धित हुने गरेको छ । महानगरले पटक–पटक सूचना जारी गरेर नहरसहितका सार्वजनिक स्थलहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएको छ । गत वर्ष पनि महानगरका मेयर कोइरालाको पहलमा तिहार अघि नै नहरको सफाई गरिएको थियो । छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, योजना महाशाखा प्रमुख अर्जुन थापालगायतको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया