विपतमा प्रचार होइन, सहयोगका लागि एकजुट हौं : एमाले अध्यक्ष ओली
२० कार्तिक २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।
उहाँले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गर्दै राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न समेत अनुरोध गर्नुभएको छ ।
अध्यक्ष ओलीले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न,लत्ताकपडा,घाइतेका लागि औषधि उपचार आवश्यक भएको बताउनुभएको छ ।
विपतको बेला तत्कालको आवश्यकता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै एकजुट हुन आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ । विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ।’
अध्यक्ष ओलीले विपतमा प्रचारभन्दा सहयोग आवश्यक रहेको बताउँदै अनावश्यक प्रचार नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,‘विपतमा प्रचारभन्दा सेवा महत्त्वपूर्ण हुन्छ। भीडभाड गरेर अल्झाउनु हुँदैन।’
यस्तै, एमालेले भूकम्प पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
शुक्रबार राती जाजरकोटको रामडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको छ। करिब दुईसय बढी घाइते भएका छन्। भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ।