विराटनगर , २१ कात्तिक । विराटनगर महानगरपालिकाले नगरका विभिन्न दश स्थानमा ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ ।
सवारी चाप र दुर्घटना बढी हुने क्षेत्र पहिचान गरी ट्राफिक लाइट जडान गर्ने तयारीमा रहेको महानगरले ट्राफिक प्रहरीसँग समन्वय गरेर स्थान पहिचान गर्ने जनाएको छ ।
बढी भीड हुने मुख्य बजार क्षेत्रको तीनपैनी, अस्पताल चोक, जलजला चोक, घोघापुल चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
यसैगरी कोशी लोकमार्ग अन्तरगत विराटनगर खण्डमा पर्ने कञ्चनबारी, बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक र रोडशेष चोकमा पनि ट्राफिक लाइट राख्न जरुरी रहेकोले सडक विभाग समक्ष प्रस्ताव गर्ने तयारी गरिरहेको उनले बताए ।
ट्राफिक लाइट जडान गरपछि ट्राफिक नियम पालना गर्ने संस्कृति सुरुवात हुने, त्यस क्षेत्रमा जथाभावी पार्किङ गर्ने प्रवृत्ति हट्ने र सर्वसाधारण यात्रुहरुले जेब्रा क्रसिङबाट यात्रा गर्ने भएकोले प्रभावकारी हुने न्यौपानेले बताए ।
विराटनगरको कुनै पनि चोकमा ट्राफिक लाइट नभएकोले नमूनाको रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्ने तयारी गरिरहेको उनले बताएका छन् ।
विराटनगर महानगरले एक वर्ष अगाडि नै केही चोकमा ट्राफिक लाइट जडान गर्ने योजना अगाडि बढाएको भए पनि ठेकेदार कम्पनीले विशेष कारणले काम गर्न नसक्दा ढिलाइ भएको मेयर नागेश कोइरालाले बताए । उनले ४५ दिनभित्र पहिलो चरणमा जलजला चोकमा ट्राफिक लाइट जडान गरिसक्ने र क्रमश अन्य चोकहरुमा पनि यो व्यवस्था लागू गर्दै जाने जानकारी दिए ।
कोशी लोकमार्ग खण्ड महानगर मातहतमा नरहेका कारण सडक विभागसँग समन्वय गरेर मात्र निर्णय लिइने उनको भनाइ छ । महानगरले विभागसँग प्रस्ताव गरेको भए पनि कुनै रेस्पोन्स नआएका कारण अहिले त्यहाँ लाइट जडान नहुने उनले बताए ।
यसैबीच पैदल यात्रीहरुलाई सुरक्षित सडक पार गर्न सहज बनजाउने उद्देश्यले निर्माण गरिएको जेब्रा क्रसिङमै सवारी साधन पार्किङ गर्ने प्रवृत्ति विराटनगरमा देखिएको छ । ट्राफिक नियम उल्लंघन गर्दा कारवाहीको डर नभएकै यस्तो प्रवृत्ति बढेको देखिएको छ ।
विराटनगर स्थित जनआन्दोलन चोकको जेब्रा क्रसिङमा लार्पवाही ढंगले सवारी पार्किङ गर्ने गरेको भए पनि त्यस्ता सवारी साधनमाथि कारवाही भने भएको पाइदैन । जेब्रा क्रसिङ भएकै ठाउँमा सवारी पार्किङ गर्दा सर्वसाधारणले आवतजावतमा सास्ती भोग्नु पर्छ । ट्राफिक प्रहरीले भने आफूहरुको अनुपस्थितिमा केही सवारी साधनले नियम उल्लंघन गर्ने गरेको बताएको छ ।
नियम मिचेर गाडीहरु कुदाउदा सडकहरुमा जाम हुने गरेको दुर्घटना हुने सम्भावना बढ्दछ । पैदल यात्री देवी यादव भन्छिन् , ‘मलाई जेब्रा क्रसिङबाट पनि सडक पार गर्न डर लाग्छ किनभने जेब्रा क्रसिङ देखेर पनि गाडीले गति कम गर्दैनन् ।’
विराटनगरका सुजन काफ्ले भन्छन्, ‘पैदल यात्रु हिड्नलाई बनाएको जेब्रा क्रसमा हामीलाई नै गाह्रो पर्छ, गाडी चालकहरु जेब्रा क्रसिङमा गति घटाउनै चाहदैनन्, हात उठाउँदा पनि अटेर गर्ने प्रवृत्ति रोक्न ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ ।’
विराटनगर ट्रफिक प्रहरी कार्यलय प्रहरी निरिक्षक सुमन नेउपानेले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन नियन्त्रण गर्ने र न्यूनतम ५०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लिने गरेको बताउँछन् । उनले पार्किङ व्यवस्थापन र ट्राफिक नियम पालना गराउने तर्फ सबै पक्षसँग समन्वय गर्दै काम गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?