मापासे गरेर एम्बुलेन्स चालकको विराटनगरमा आतंक, चार वटा सवारीलाई दिए ठक्कर
६ मंसिर २०८०, बुधवार
0
प्रतिक्रिया
विराटनगर , ६ मंसिर । विराटनगरको हस्पिटल चोकमा मादक पदार्थ सेवन गरी एक जना एम्बुलेन्स चालकले आतंक मच्चाएका छन् ।
मोरङको रतुवामाइ नगरपालिका – ५ का वर्ष २९ का सुफल मुर्मुले मापासे सेवन गरेर मंगलबार राती चलाएको एम्बुलेन्सले आतंक मच्याएको हो । लायन्स क्लब अफ विराटनगरको नाम लखेको को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मुर्मुले मापासे गरेर चलाएको एम्बुलेन्सले चार वटा सवारी साधनलाई ठक्कर दिएका छन् ।
कोशी हस्पिटल अगाडी मुर्मुले चलाएको एम्बुलेन्सले तीव्र गतिमा दौडाएर पार्किङमा राखिएको दुई वटा स्कुटर, दुई वटा मोटरसाइकल र एउटा साइकल ठक्कर दिएका थिए । एम्बुलेन्सको ठक्करबाट स्कुटर र मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ । विराटनगरका औषधी व्यवसायी विजय राजवंशी र लक्ष्मण माझीको स्कुटर र मोटरसाइकलमा क्षति पुगेको हो । पार्किङमा राखिएको सवारी साधनलाई ठक्कर दिएपछि मुर्मुले चलाएको एम्बुलेन्स विराटनगर ९ श्याम घिमिरेको घरको सटरमा ठोकिएर पल्टिएको छ ।
दुर्घटनामा परेको एम्बुलेन्सबाट मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘ मापासे गरेर चलाएको एम्बुलेन्स दुर्घटनामा परेको छ । हामीले राती नै एम्बुलेन्सको चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छौँ,’ उनले भने, ‘थप कारबाहीको प्रक्रिया मोरङ प्रहरीले गर्नेछ ।’