.

मिथिलाञ्चलमा सामाचकेवाको रौनक

विराटनगर , ८ मंसिर  । मिथिलाञ्चलमा दिदी बहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रुपमा मनाइने सांस्कृतिक पर्व सामाचकेवाको रौनक शुरु भएको छ । मिथिलाञ्चलका चेलीबेटीले कात्तिकशुक्ल पञ्चमी अर्थात् छठको खरनाबाट शुरु हुने यो पर्व १० दिनसम्म मनाउने गर्छन् । 


यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ । 


भगवान् कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’ को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो । 


यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ । 


यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । त्यो दिन सिरी सामा, दोश्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैँया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ । 


यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसा गर्नुकासाथै आशीष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसैक्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया