मनसुनजन्य विपद् जोखिम न्युनिकरणको यस्तो छ सरकारको पूर्वतयारी
२३ जेठ २०८१, बुधवार
0
प्रतिक्रिया
विराटनगर , २३ जेठ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्। ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन्।
पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए । उनले आजबाट शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए। गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताए। उनले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महशुस हुनेगरी गर्न सकिने बताए।
त्यस्तै, ७३ हजार ६७० क्वीन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उनले जानकारी दिए।
उनले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताए। मन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै छिटोछरितो गरिने पनि बताए।