विराटनगर ,४ साउन । जेठ ३१ गते मनसुन भित्रिएयता विपद्बाट २९ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र २६ जना घाइते भएको गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । अहिलेसम्म बाढी–पहिरोबाट ९० वटा घरमा पूर्ण क्षति र १८२ घरमा आंशिक क्षति पुगेको शाखाले जानकारी दिएको छ।
शाखाकाअनुसार बाढी–पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँ ४ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। ।ओखलढुंगामा एकै परिवारका ४ जनाको पहिरोमा परी मृत्यु भएको छ । ताप्लेजुङमा बाढी पहिरोका कारण ३ जनाको मृत्यु, ३ जना बेपत्ता भएका छन्। अर्घाखाँचीमा पनि ३ जनाको मृत्यु भएको तथ्यांक शाखाले दिएको छ।अहिलेसम्म पहिरोबाट २ करोड ३५ लाख ५७ हजार क्षति भएको अनुमान छ।
त्यस्तै बाढीबाट ४ करोड ६२ लाख ८० हजार रूपैयाँ बराबरको क्षति भएको अनुमान छ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार जनसंख्या र २ लाख ८७ हजार घरधुरी प्रभावित हुने प्रक्षेपण गरेको छ। सबैभन्दा बढी मधेसमा ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ प्रभावित हुने प्राधिकरणको अनुमान छ।
विगतका तथ्यांकअनुसार इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा पर्ने प्राधिकरणको भनाइ छ।
त्यसैगरी, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर पर्ने प्राधिकरणले बताएको छ।