.

देशैभरका नदी तथा खोलामा जलसतह बढ्यो, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी पस्यो

विराटनगर ,  २३ साउन।  अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलो वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ ।

बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आफ्ना सरसामान व्यवस्थापनमा जुटेका छन् । घरभित्र पसेको पानी उबाउनेदेखि ढल निकासको काममा लागेका छन् ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेकाहरूमध्ये केहीको उद्धार भएको र उद्धार कार्य भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

यसैबीच गए रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घरधुरी प्रभावित भएका स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै अविरल वर्षापछि बाढीका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्र डुबानमा परेको छ । बबई नदीमा बाढीको जलस्तर बढेपछि बाढी गाउँका बस्तीमा पस्ने खतरा छ ।

यस्तै अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० वटा घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो । घरभित्र पानी पसे पनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति नभएको र पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली खटिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया