सुन तस्करीको सीआईबीले अनुसन्धान सकेपछि समग्र अध्ययन गर्न जाँचबुझ आयोग
५ भदौ २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , ५ भदौ । प्रमुख तीन दलको कार्यदलले सुन तस्करीको अनुसन्धान र अभियोजन प्रक्रिया सकिएपछि समग्र विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेको छ ।
सरकार आयोग बनाउन तयार भएपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई मस्यौदा बनाउने जिम्मा दिइएको थियो ।
मंगलबार तीन नेताले मस्यौदा तयार पारेका छन्, त्यसलाई केहीबेरमा बस्ने प्रमुख दलहरुको बैठकमा पेश गरिने माओवादी केन्द्रका प्रमुख समेतक पाण्डेले जानकारी दिए ।
अर्का एक सदस्यका अनुसार २ साउनमा बरामद भएको करिव ६० किलोग्राम सुन तस्करीको अनुसन्धान प्रक्रिया सीआईबीले नै गर्नेछ । ‘अहिलेले सीआईबीले गरेको अनुसन्धानले निरन्तरता पाउँछ र निष्कर्षमा पुगेपछि अभियोजन प्रक्रिया अघि बढ्छ’ ती सदस्य भन्छन्, ‘त्यसपछि समग्र विषयमा अध्ययन गर्न आयोग बन्छ ।’
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समितिरआयोग बनाउनुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भने सीआईबीले अनुसन्धान गरिरहेकाले छुट्टै आयोग गठन गर्नुनपर्ने तर्क गर्दै आएको थियो ।
तर सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको दलहरुको बैठकमा सीआईबीको अनुसन्धानलाई अवरोध नगर्ने गरी जाँचबुझ आयोग बनाउन सरकार सहमत देखिएको थियो ।