.

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नव यज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ ।

यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । बुधबार भद्रा परेकाले यो पर्व मनाउन नहुने योग परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । शुक्रबार प्रतिपदा तिथि नरहेकाले प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि आजै परेको उहाँले बताउनुभयो । आज बिहान ७ः४५ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने समितिले स्वीकृति दिएका पाात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया