आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का इंग्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ।
सेमिफाइनल प्रवेशका लागि आजको खेल न्युजिल्यान्डका लागि महत्त्वपूर्ण छ । यो समूहमा इंग्ल्यान्डले दुई खेलमा निरन्तर जित निकाल्दै चार अंक जोड्दा न्युजिल्यान्डले भने एक खेलमा अंक बाँडेर अर्को जित निकाल्दै तीन अंक बनाएको छ । अंक तालिकामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका हुन्।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
सुपर–८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ। यो समूहबाट श्रीलंका बाहिरिसकेको छ। श्रीलंकाले सुपर आठका दुई खेल गुमाएपछि सेमिफाइनल यात्रा अन्त्य भएको हो।
सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्डले तीन अंक बनाउँदा पाकिस्तानको एक अंक छ। दुवै खेल गुमाएको श्रीलंका अंकबिहीन छ।