.

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी परिचालन

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोगले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फका १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदान केन्द्रको आकार अनुसार कर्मचारीको सङ्ख्या तोकिएको जानकारी दिए। उनका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइनेछ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले नै प्रशिक्षण दिनेछ भने अन्य सहायक कर्मचारीहरूलाई सम्बन्धित मतदान अधिकृतले नै कार्यस्थलमा प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेसँगै मतदानका लागि आवश्यक सामग्री र मतपत्र बिहीबार नै सबै १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ। सुरक्षा व्यवस्था र कर्मचारी परिचालनको कामलाई व्यवस्थित बनाउँदै आयोगले फागुन २१ को मतदान कार्यलाई मर्यादित र सुरक्षित बनाउने लक्ष्य राखेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया