सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा आज (शुक्रबार) बिहान टिपर सफा गर्ने क्रममा करेन्ट लागेर एक चालकको ज्यान गएको छ। प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गरिरहेका स्थानीय ४३ वर्षीय सन्तोष साहको अचानक करेन्ट प्रवाह हुँदा मृत्यु भएको हो।
प्रहरीका अनुसार टिपरको पछाडिको भाग (ढाला) हाइड्रोलिकमार्फत माथि उठाउने क्रममा माथि रहेको ११ केभीको उच्च भोल्टेज विद्युत् प्रसारण लाइनमा छोइएको थियो। टिपर सफा गरेर पानी छ्याप्ने तयारीमा रहेका साहले ढाला उठाउँदा तारमा छोइन पुगेपछि सम्पूर्ण टिपरमा करेन्ट सञ्चार भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ। विद्युत् सर्ट भएपछि टिपरको केही भागमा आगलागी समेत भएको र त्यसबाट क्षति पुगेको बताइएको छ।
प्रहरी निरीक्षक सुदन केसीले घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ।