पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक एक जना पुरुष मृत फेला परेका छन् ।
सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत भेटिएका हुन् । सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ११ः३० बजेतिर उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परिवारमा एक्लै रहेका भुजेल प्लाष्टिक, बोतल र कागज संकलन गरी कबाडीलाई बेचेर गुजारा चलाउँथे । दुवै खुट्टामा चोट लागेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।
उनका अनुसार घटनाको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट भुजेलको मृत्यु भएजस्तो देखिन्छ । यद्यपि, दुर्घटना गराउने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने डीएसपी चौधरीले बताए ।