मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश कार्कीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दिएका कार्कीले संसदीय भूमिका सशक्त बनाउने, सरकारको प्रभावकारी निगरानी गर्ने, क्षेत्रगत प्रतिनिधित्व मजबुत बनाउने र जबाफदेही सांसदको अभ्यास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राज्यका स्रोत–साधनको बाँडफाँटमा मोरङ–३ को उचित हिस्सा सुनिश्चित गर्न सरकारमाथि दबाब दिने बताएका छन् ।
नेपालमै बसेर अनलाइन काम गर्ने नागरिकलाई दोहोरो करको भार नपरोस् भन्नका लागि दोहोरो कर सम्झौता नभएका देशसँग नीतिगत पहल गर्ने उनको भनाइ छ । गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि निःशुल्क हुने दिशामा नीति निर्माणका लागि पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
कार्कीले मोरङ–३ मा सञ्चालित विकास आयोजनाको गुणस्तर र समयसीमा सुनिश्चित गर्न संसदीय अनुगमनलाई प्राथमिकता दिने बताएका छन् । संसद र संसदीय समितिमा तथ्यांकसहित अध्ययनशील र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ । कार्कीले सुशासन, पारदर्शिता र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।