.

धादिङ बस दुर्घटना ः २५ घाइतेको काठमाडौंका अस्पतालमा उपचार हुँदै

धादिङमा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २५ जना घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस आइतबार राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा नजिक त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते २५ जनालाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएको छ । तीमध्ये १५ जनालाई ट्रमा सेन्टर र १० जनालाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा करिब ३२ वर्षीय एक अज्ञात पुरुषको मृत्यु भएको छ । त्यहाँ हाल १४ जना घाइते उपचाररत छन् । 

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । रातिको समय, सडकको अवस्था तथा सम्भावित तीव्र गति जस्ता पक्षहरूलाई समेत ध्यानमा राखेर छानबिन अघि बढाइएको जनाइएको छ । घटनाले देशलाई शोकाकुल बनाएको छ भने पीडित परिवारमा गहिरो पीडा थपिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया